Main News

सरकारले स्थानीय र विज्ञको चेतावनी बेवास्ता गर्दा नागरिकको अकालमै मृत्यु (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ३० गते २०:२८
सरकारले स्थानीय र विज्ञको चेतावनी बेवास्ता गर्दा नागरिकको अकालमै मृत्यु (भिडियोसहित)

३० साउन, २०७७ काठमाडौं । सिन्धुपाल्चोकका अधिकांश बस्ती भौगोलिक हिसावले निकै जोखिमपूर्ण रहेको चेतावनी भूगर्भविद्हरुले दिँदै आएका छन् ।

तर जिम्मेवार निकायको लापरबाहीका कारण सिन्धुपाल्चोक पटक पटक पहिरोको चपेटामा पर्ने गरेको छ । आज पहिरो गएको लिदी प्राकृतिक प्रकोप मात्रै होईन, जिम्मेवार निकायको उपेक्षाको पनि शिकार भएको छ ।

बिहीबार राति पहिरोले पुरिएको सिन्धुपाल्चोक लिदीको यो बस्ती पहिरोको जोखिममा छ भनेर पाँच वर्ष अघिनै भूगर्वविद्को अध्ययन टोलीले पहिचान गरेको थियो ।

२०७२ सालको भुकम्पपछि जोखिममा परेका बस्तीको अध्ययन गर्न राष्ट्रिय पुन निर्माण प्राधिकरणले पठाएको टोलीले यो बस्ती जोखिममा रहेको निष्कर्ष निकाल्यो । र पहिरो रोकथामका लागि ग्याविङ तथा अन्य उपाय अपनाउन सुझाव दियो । तर त्यो सुझाव कार्यान्वयन भएनन् । पहिरो रोकथामका लागि कुनै काम भएन ।

तर भूकम्पपछिको पुनर्निर्माण भन्दै यहाँ घर बने । गत हप्ताको वर्षापछि स्थानीयबासिन्दालाई पहिरोको डर फेरि शुरु भयो । साउन २३ गते जुगल गाउँपालिका वडा नम्बर २ को कार्यालयले वस्ति जोखिममा रहेको भन्दै जिल्ला विपद् व्यवस्थापन समिति चौतारामा पत्र लेख्यो ।

पत्रमा बस्तीमुनि ब्रम्हायणी हाइड्रो पावर निर्माण भैरहेको बलेफी ए हाईड्रो पावरको सुरुङ निर्माण गर्दा विस्फोटक पदार्थ पड्काएको र जमिन क्षतविक्षत भएको उल्लेख थियो । तर यो पत्र पठाएको एक हप्ता पनि नपुग्दै पहिरोले गाउँ पुर्‍यो ।

७२ सालदेखि नै जोखिममा रहेको गाउँमा ५ वर्षपछि विपत् आइलाग्यो । विपतपछि आँसु पुछ्न गृहमन्त्री रामबहादुर थापा, यही क्षेत्रबाट चुनिएर सभामुख बनेका अग्निप्रसाद सापकोटा लगायतका नेताहरु लिदी पुगे । र, राहत र उद्धारको व्यवस्था गर्ने आश्वासन दिए ।

अब केही दिन आश्वासनका पोका बोकेर धेरैले यो गाउँमा दौडधुप गर्नेछन । समयमै नै लिदीका बासिन्दाको गुहार सुनेको भए अहिले यो दिन आउने थिएन । तर समयमा कसैले कुरा सुनेन र सावधानी अपनाएन ।

जुगल गाउँपालिका वडा नम्बर दुई कै नाम्फा, सन्चगाउँ, झुल्के, निम्लुङ, बैगाड टोल लगायतका ठाउँका पाँच सय घर पहिरोको जोखिममा छन् । ती बस्ती स्थानान्तरण गर्न स्थानीय बासिन्दाले माग गरिरहेका छन् ।

पहिरोको जोखिममा रहेका गाउँले लिदीकै हालत व्यहोर्नु नपरोस् । पहिरोमा आफन्त गुमाएकाको आँसु पुछ्न पुगेकाहरुले अब गाउँलेको आँसु नै नखस्ने नबनाउन् । र, जे काम गर्नुपर्ने हो त्यो गरुन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *