Main News

कोरोना संक्रमितको संख्या बढ्दो, अस्पतालमा बेड अभाव, यस्तो छ बेडको अवस्था (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २६ गते १९:४६
कोरोना संक्रमितको संख्या बढ्दो, अस्पतालमा बेड अभाव, यस्तो छ बेडको अवस्था (भिडियोसहित)

२६ साउन, २०७७ काठमाडौं । पछिल्लो समय कोरोना संक्रमित बढेका छन् । यसअघि लक्षणबिनाका संक्रमित देखिने गरे पनि अहिले भने लक्षणसहितका अर्थात अस्पतालमै राखेर उपचार गर्नुपर्ने संक्रमित पनि देखिन थालेका छन् ।

संक्रमित धेरै देखिएका काठमाडौं, वीरगञ्ज, विराटनगर लगायतका ठाउँमा आइसोलेशन वार्ड अभाव छ । जसले गर्दा सयौं सक्रिय संक्रमित घरमै बस्न बाध्य छन् ।

स्वास्थ्य मन्त्रालयले अस्पताललाई ३ तहमा वर्गीकरण गरेर कोरोना संक्रमितको उपचारका मेसो मिलाएको छ । लेभल वान र लेभल टू अस्पतालमा संक्रमण देखिएका तर अवस्था धेरै गम्भीर नभएका बिरामी राखिन्छ भने लेभल थ्री अस्पतालमा अत्यन्तै गम्भीर बिरामीको उपचार हुन्छ ।

मन्त्रालयका अनुसार साढे ६ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । र यो संख्या भदौको पहिलो हप्तासम्म ३९ हजार पुग्ने मन्त्रालयको अनुमान छ । यो अनुमान अनुसार संक्रमित बढेमा कसरी उपचार गर्ने भनेर मन्त्रालयले गम्भीरता देखाएको पाइँदैन । किनकी अहिलेकै अवस्था हेर्ने हो भने पनि आधा भन्दा बढी संक्रमितले अस्पतालमा उपचार पाउन सकेका छैनन् । जसको एउटै कारण हो बेड अभाव ।

मन्त्रालयकै तथ्याङ्कलाई आधार मान्ने हो भने पनि अहिले प्रदेश १ का कोभिड अस्पतालहरुमा ३ सय १५ वटा आइसोलेसन बेड छन् । जबकी यहाँ सक्रिय कोरोना संक्रमितको संख्या झण्डै साढे ५ सय छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित रहेको प्रदेश २ को अवस्था त झनै डरलाग्दो छ । मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या तीन हजारभन्दा धेरै रहेको प्रदेश २ का कोभिड अस्पतालमा जम्मा ३ सय ४४ बेड छन । यहाँ बेड थप्ने तयारी भएपनि संक्रमितको संख्या अनुसार बेड संख्या कहिले पुग्ने हो थाहा छैन ।

बागमती प्रदेशको अवस्था पनि उस्तै छ । यहाँ सक्रिय संक्रमितको संख्या ११ सय भन्दा धेरै छ । तर बेड ९ सय ५८ छन् ।

गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या साढे २ सय जति छ । यो प्रदेशमा संक्रमितको संख्या कम भएकाले अहिलेसम्म बेड अभावको कुरै सुन्नु परेको छैन । यहाँका कोभिड अस्पतालमा २ सय ६५ शैय्या छन् ।

प्रदेश ५ मा साढे ४ सय संक्रमित छन् र बेड संख्या ५ सय १२ छ । तर संक्रमित बढ्दै जाँदा यसले धान्ने देखिन्न ।

कर्णाली प्रदेशमा २ सय भन्दा पनि कम सक्रिय संक्रमित छन् जुन सात वटै प्रदेशमा सबैभन्दा थोरै हो । र यहाँ ४ सय ६६ शैय्या छन । तर सुदुरपश्चिम प्रदेशमा झण्डै १ हजार कोरोनाका सक्रिय संक्रमित छन् तर अधिकांश संक्रमित उपचारका लागि अस्पताल जान सकेका छैनन् । सुदुरपश्चिम प्रदेशमा मात्र २ सय ७४ शैय्या कोरोनाका विरामीका लागि छुट्याइएको छ ।

बेड मात्र होइन आईसीयु र भेन्टिलेटरको अवस्था पनि उस्तै छ । नेपालमा जटिल रोगका लागि १७ सय २ वटा आइसीयु बेड र ९ सय वटा भेन्टिलेटर छन । यसबाहेक देशभरका मेडिकल कलेजमा ७ सय आइसीयु बेड, २ सय ३८ वटा भेन्टिलेटर छन् । तर यी सबै कोरोना संक्रमितका उपचारका लागि नभइ हरेक प्रकारका जटिल रोगका लागि हो ।

मन्त्रालयका अनुसार लेबल १ अस्पतालका लागि सातै प्रदेशमा गरी जम्मा ८७ आइसियु र ३९ भेन्टिलेटर छन् । यस्तै लेभल २ अस्पतालका लागि सात प्रदेशमा १४० आइसियु बेड र ५९ भेन्टिलेटर छन्। र लेभद ३ अर्थात अत्यन्त गम्भीर भएका कोरोनाका विरामीका लागि छुट्याइएका अस्पतालमा जम्मा १५३ आइसीयु बेड र ५२ भेन्टिलेटरको व्यवस्था गरिएको छ । यसबाहेक विभिन्न प्रदेशका कोभिड क्लिनिकमा पनि आइसियु र भेन्टिलेटरको व्यवस्था छ । तर संख्या निकै न्यून हुन्छ । ७ प्रदेशका विभिन्न क्लिनिकमा ३० वटा आइसियु र १० वटा भेन्टिलेटर छन् ।

मन्त्रालयका अनुसार हाल ६४ जनाको देशका विभिन्न कोभिड अस्पतालमा आईसीयु र भेन्टिलेटरमा उपचार भइरहेको छ । तर पछिल्लो समय जसरी कारोना संक्रमितको संख्या बढिरहेको छ आइसियु चाहिने संक्रमितको संख्या पनि बढ्दो छ । यही गतिमा संक्रमित बढ्ने हो भने अहिले भएका आइसियू र भेन्टिलेटर पर्याप्त छैनन् ।

भोलिका दिनमा संक्रमित बढ्दै गए र संक्रमितमा जटिल स्वास्थ्य समस्या आएमा अहिले नै भएको पूर्वाधारले उनीहरुलाई उपचार गर्न सकिँदैन । कोरोना संकट शुरु भएको ५ महिना बितिसक्दा पनि त्यसतर्फ सम्बन्धित निकायको ध्यान नजानु दुखद् हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *