Main News

अस्पताल बिरामी भर्ना गर्न नमान्ने, डाक्टरले नहेर्ने ! (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २५ गते १९:५५
अस्पताल बिरामी भर्ना गर्न नमान्ने, डाक्टरले नहेर्ने ! (भिडियोसहित)

२५ साउन, २०७७ काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि निजी तथा सरकारी अस्पतालले विरामीको उपचार गर्न अनाकानी गरिरहेका छन् । नागरिकको सहज उपचार गर्न बसेका अस्पतालले आफ्नो दायित्व पूरा नगर्दा नागरिकले अकालमा ज्यान गुमाउनु परिरहेको छ ।

वीरगञ्जका कुनै पनि अस्पतालले भर्ना नगर्दा छपकैया की २० वर्षीय महिलाले शुक्रबार राति टेम्पोमै ज्यान गुमाउनु पर्‍यो । अस्पतालले भर्ना नगर्दा ज्यान गुमाउने उहाँ एक जना मात्रै हैन ।

चियाले पोलेपछि बाबु आमाले अस्पताल लगेकी १ वर्षकी बालिकाले पनि कपिलवस्तुमा समयमा नै उपचार नपाएर ज्यान गुमाइन् । अस्पतालको आकस्मिक कक्षमा मलहम लगाउनु बाहेक कुनै पनि डाक्टरले बालिकालाई हेर्दै हेरेनन् ।

यसअघि गत बैशाख १८ गते उदयपुरको त्रियुगाका एक गर्भवती महिलालाइ विराट मेडिकल कलेजले अप्रेशन थिएटरबाटै बाहिर निकाल्दियो । उदयपुरमा कोरोना संक्रमित भेटिएको कारण देखाएर शल्यक्रिया नगरी ती महिलालाई बाहिर निकालिएको थियो ।

कोरोना संक्रमण शुरु भएको वैशाखमा मात्र हैन संक्रमण समुदायमा नै फैलिसकेको अहिलेको अवस्थामा पनि अस्पताल फेरिन सकेका छैनन् । विभिन्न बहानामा विरामी भर्ना नै नलिने र गरेपनि उपचार नै नगर्ने प्रवृत्ति बढ्दै गएको छ । त्यसैले स्वास्थ्य मन्त्रालयले बिरामीको उपचार गर्न नमान्ने सरकारी तथा निजी अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ ।

जीवन र मरणको दोसाँधमा उपचार खोज्दै आएका कुनै पनि विरामीलाई उपचार गर्दिन भनेर कुनै पनि अस्पतालले भन्न पाउँदैन् । विरामीको उपचार गर्न आनाकानी गर्ने कुनै पनि अस्पताललाई खारेज नै गर्न सक्ने समेत कानुन छ ।

त्यसैले सरकारले विरामीको उपचार नगर्ने र उपचारमा लापरबाही गर्ने स्वास्थ्य संस्थालाई कारबाही गरेर भए पनि नागरिकको उपचार पाउने हक सुनिश्चित गर्नु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *