Main News

सिंहदरबार र बालुवाटारमा कोरोना त्रासः विशिष्ठ व्यक्तिहरुबाट कोरोना संक्रमणको खतरा (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २३ गते ७:१७
सिंहदरबार र बालुवाटारमा कोरोना त्रासः विशिष्ठ व्यक्तिहरुबाट कोरोना संक्रमणको खतरा (भिडियोसहित)

२३ साउन, २०७७ काठमाडौं । विशिष्ट व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेको छ । कोरोना संक्रमण देखिएका व्यक्ति प्रधानमन्त्री निवास बालुवाटारदेखि सिंहदरबारसम्म पुगेको भेटिएको छ ।

बुधबार राति प्रदेश २ का आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण भएको पुष्टि भयो । र यादवलाई कोरोना पुष्टि भएको खबर आएलगत्तै प्रधानमन्त्री निवास बालुवाटारदेखि सिंहदरबारसम्म मात्र हैन, प्रदेश १ देखि कर्णाली प्रदेशसम्म हल्लीखल्ली भयो ।

कारण काठमाडौंबाट १८ गते जनकपुरधाम फर्केका यादवले १९ गते कोरोना परीक्षणका लागि नमूना दिनुभएको थियो । उहाँले काठमाडौंमा रहँदा बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल लगायत सहभागी बैठकमा भाग लिनु भएको थियो ।

यो बैठकमा सूदूरपश्चिम र बाग्मती प्रदेश बाहेक अरु ५ वटा प्रदेशका आन्तिरक मामिला तथा कानुन मन्त्रीसमेत सहभागी थिए । त्यसअघि कोरोना संक्रमित प्रदेश २ का आन्तरिक मामिला मन्त्री यादव सहित ५ प्रदेशका मन्त्रीले संघीय कानून मन्त्री डाक्टर शिवमाया तुम्बाहाङ्फेलाई भेटेका थिए ।

अचम्मको कुरा त के छ भने बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहित सबैले मास्क लगाएका छैनन । तर उनीहरुले खुट्टामा भने प्लाष्टिक बेरेका थिए ।

जसका कारण बालुवाटारको यो बैठकमा सहभागी र प्रदेश २ का आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई भेट्नेहरु सशंकित हुन स्वाभाविक नै थियो । यो त भेटवार्ता भएको सार्वजनिक भएको कुरा थियो, तर कोरोना संक्रमित प्रदेश २ का आन्तरिक मामिला मन्त्री सहितको टोलीले अरु शीर्ष नेताहरुसँग पनि भेटेको अनुमान छ ।

यादवलाई कोरोना संक्रमण भएको खबर सेलाउन नपाउँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा सुरक्षाका लागि खटिएका ६ जना प्रहरीमा संक्रमण पुष्टि भयो ।

प्रचण्ड र उहाँको परिवारका सदस्यसहित सुरक्षाकर्मी गरी ५३ जनाको नमूना जाँच गरिएको थियो । बाहिरी घेरामा रहने ६ जना सुरक्षाकर्मी बाहेक प्रचण्ड र उहाँका परिवारका सदस्य र अरु सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

संघीय संसद सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेलाई पनि कोरोना संक्रमण भएको पुष्टि भयो । यसअघि सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएको थियो । यादवको सम्पर्कमा आएकाको स्वाब संकलन गरिएकोमा पाण्डेको रिपोर्ट पोजिटिभ आएको हो ।

भ्रष्टाचारीलाई नछाड्ने अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पनि कोरोना संक्रमण फैलिएको छ । बिहीबार आयोगको मुख्यालय टंगालमा कार्यरत २० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भयो ।

यसअघि त्यहाँका १५ जना कर्मचारीमा कोरोना पुष्टि भइसकेको थियो । संक्रमित अधिकांश प्रहरी कर्मचारी हुन् । तर पछिल्लो पटक देखिएका संक्रमणले विशिष्ट व्यक्ति पनि कोरोनाको जोखिममा छन् भन्ने पुष्टि हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *