Main News

चौतर्फी दवाबपछि नयाँ मापदण्ड बनेसँगै कोरोना परीक्षण बढ्यो (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २० गते ७:४५
चौतर्फी दवाबपछि नयाँ मापदण्ड बनेसँगै कोरोना परीक्षण बढ्यो (भिडियोसहित)

२० साउन, २०७७ काठमाडौं । पीसीआर परीक्षणको दायरा बढाउन नागरिकले माग गरिरहेको बेला, सरकारले कोरोना परीक्षण मापदण्ड परिवर्तन गरेको छ । यो परिवर्तित मापदण्ड अनुसार पीसीआर परीक्षण पनि बढेको छ । मापदण्ड परिवर्तनलाई संक्रामक रोग विशेषज्ञले सकारात्मक भनेका छन् ।

बढ्दो दबाबपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर टेष्टको मापदण्ड परिवर्तन गरेको छ । यसले साँघुरिएको परीक्षणको दायरालाई फराकिलो बनाएको छ ।

मन्त्रालयले झाडापखाला लागेकादेखि दीर्घ रोगका बिरामीसम्मलाई कोरोना परीक्षण गर्नुपर्ने मापदण्ड बनाएसँगै परीक्षणको दायरा फराकिलो भएको हो ।

अबको नयाँ मापदण्ड अनुसार सबै लक्षण देखिने केशहरु जस्तै ज्वरो, खोकी वा श्वासप्रश्वासमा समस्या वा स्वाद गन्ध थाहा नपाउने र पखाला लागेका व्यक्तिहरुको कोरोना परीक्षण गरिनेछ ।

कोरोना संक्रमण पुष्टि भएका सबै केसको सम्पर्कमा रहेका व्यक्तिहरुको पनि परीक्षण गरिनेछ । यसलाई संक्रामक रोग विशेषज्ञहरुले सकारात्मक रुपमा लिएका छन् ।

गम्भीर श्वासप्रश्वास सम्बन्धि समस्या देखिएका बिरामीहरु, विदेशबाट फर्किएका सबै व्यक्तिहरु, हवाई तथा स्थलमार्ग हुँदै आएकाहरुको पनि अनिवार्य परीक्षण गरिनेछ । यसअघि क्वारन्टिनमा बसेका व्यक्तिहरुको कोरोना परीक्षण नै नगरी घर पठाउने गरिएको थियो । अव भने क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुको पनि परीक्षण गरिनेछ । अहिलेसम्म व्यवस्थापनको पाटोमा भएको अन्योलता हटाउन पनि मद्दत गर्ने विज्ञहरुको भनाई छ ।

अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी , सरक्षाकर्मी लगाएतको पनि परीक्षण सहजै हुनेछ । पछिल्ला १४ दिनमा कोभिड—१९ संक्रमण फैलिएको स्थानको ट्राभल हिस्ट्री भएकाहरुको पनि परीक्षण गर्न अव कुनै झन्झट हुनेछैन ।

त्यस्तै आईसीयुमा रहेका विरामीहरुको पनि कोरोना परीक्षण हुनेछ । सरकारले दिर्घरोग भएका बिरामीहरु, विशेषगरी ६० वर्ष पुगेका व्यक्तिहरुको पनि कोरोना परिक्षण गर्न सक्ने गरी मापदण्ड परिवर्तन गरेको छ । अबदेखि आपत्कालिन अवस्थाको उपचारको प्रक्रिया र शल्यक्रिया रिपोर्टको लागि कोरोना परीक्षणको रिपोर्ट कुर्न नपर्ने व्यवस्था गरिएको छ ।

सरकारले आरडिटी परीक्षण नगर्न र सबैको पीसीआर परीक्षण गर्ने निर्देशन दिनुनै कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले गरेको प्रभावकारी कदमका रुपमा विज्ञहरुले लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *