Main News

आज दिवङ्गत आफन्तको सम्झनामा गाईजात्रा पर्व मनाइँदै

हिमालय टिभी
२०७७ साउन २० गते ७:१९
आज दिवङ्गत आफन्तको सम्झनामा गाईजात्रा पर्व मनाइँदै

२० साउन, २०७७ काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

एक वर्षभित्र दिवंगत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।

यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएपछि यो पर्व शुरु भएको जन विश्वास छ ।

यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।

देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि काठमाडौँ उपत्यकामा विशेष रौनक पाइन्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुणरसका गीत पनि गाइन्छ ।

तर यो वर्ष भने कोरोनाका कारण गाइजात्रा पर्वमा प्रभाव परेको छ । व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै ०१७ पुस १ गतेको शाही ‘कू’पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो ।

गाईजात्रा पर्व काठमाडौँ उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, लगायत जिल्लामा पनि मनाइन्छ । गाईजात्राका अवसरमा काठमाडौँ उपत्यकामा आज सार्वजनिक बिदा दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *