कोशी अस्पतालमा कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या ५८ पुग्यो

१९ साउन, २०७७, विराटनगर । विराटनगरमा सोमबार कोरोना संक्रमित एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।
विराटनगर ५ का ७७ वर्षीय पुरुषको कोसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
कोसी अस्पतालका चिकित्सक डा. दिपक सिग्देलका अनुसार उनी सोमबार बिहान श्वासप्रश्वासमाको समस्या लिएर आएका थिए । उनमा कोरोनाको शंका लागेर स्वाब संकलन गरी आइसोलेशनमा राखेर उपचार थालिएको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको र परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको उहाँले जानकारी दिनुभयो ।
कोशी अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएको पहिलो केस हो । यसअघि मोरङको सुनवर्षीका एक पुरुषको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।
कोरोना संक्रमितको मृत्यु भएपछि परिवारको सहमतिमा नेपाली सेनाको टोलीले शव व्यवस्थापन गर्ने डा. सिग्देलले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ।
प्रतिक्रिया