राजनीति

प्रचण्ड र ओलीबीच एकहप्ता पछि छलफल, अडान यथावत (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १८ गते २१:१२
प्रचण्ड र ओलीबीच एकहप्ता पछि छलफल, अडान यथावत (भिडियोसहित)

१८ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्यृनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच झण्डै एक सातादेखिको संवाहीनता तोडिएको छ । दुई नेताले वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई साक्षी राखेर तीन घण्टा छलफल गरेका छन । तर सहमति भने हुन सकेन ।

साउन ९ गतेदेखि एकल वार्ता गर्न छोडेका नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आईतवार वरिष्ठ नेता झलनाथ खनाललाई लिएर पहिलो वरियताका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न बालुवाटार जानुभयो । एक्लै वार्तामा नबस्ने अडानका साथ प्रचण्डले खनाललाई लिएर गएपछि ओलीले पनि संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई राख्नुभयो । महासचिव विष्णुप्रसाद पौडेलको सक्रियतामा दुई अध्यक्ष बीचको छलफल विहान पौने १० बजेदेखि तीन घण्टा चल्यो र संवादहीनता तोडियो । भलै सहमति हुन सकेन, छलफलले निरन्तरता पाउने अवस्था बन्यो ।

साउन १३ का विषयमा ओली–प्रचण्ड बाझाबाझ
साउन १३ गते एक अर्कालाई दबाब दिने गरी कदम चालेपछि ओली र प्रचण्डबीच संवाद भएको थिएन । एकाएक ओलीले स्थायी कमिटी बैठक स्थगन गरिदिनुभयो भने अर्का अध्यक्ष प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपालको साथ लिएर स्थायी कमिटी बैठक राख्नुभयो । जसले पहिलो पटक ओलीका विरुद्ध निर्णय गर्यो । यसले दुई नेताबीच तिक्तता बढायो र संवाद नै बन्द भयो । आइतबार त्यो ब्रेक भयो । दुई अध्यक्षबीच साउन १३ कै विषयबाट कुरा शुरु भयो ।

ओली र प्रचण्डबीच यसमा नोक झोंक भयो । ओलीले १३ गते आफ्नाविरुद्ध निर्णय गरेको विषयमा आपत्ति जनाउँदै त्यसलाई बैठक मान्न अस्वीकार गर्नुभयो भने प्रचण्डले ओलीकै कारण बैठक बस्न बाध्य भएको जवाफ दिनुभयो ।

जवाफ ओलीले त्यो कुनै बैठक नभएर भेला मात्रै भएको प्रतिक्रिया दिनुभयो । तर प्रचण्ड र खनालले बैठक नै भनेपछि मेरो उपस्थितिबिनै बस्ने भनेर आक्रोश पोख्नुभयो । त्यसपछि यो विषयमा दुई नेताबीच मन माझामाझ भयो । र, छलफल अघि बढ्यो । तर मूल विषयवस्तुमा छलफल सकारात्मक हुन सकेन ।

राजिनामाका विषयमा दुवै अध्यक्ष अडानमा
आईतवार पनि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीको राजिनामाको विषय उठ्यो । प्रचण्डले दुई मध्ये एक पद स्वेच्छाले छोड्न आग्रह गर्नुभयो । तर पहिले झैं ओलीले त्यसलाई सिधै अस्वीकार गर्नुभएको छ । विधि प्रक्रिया भन्दा बाहिरबाट मागिएकोले राजिनामा नदिने ओलीको अडान छ । ओलीको भनाई उधृत गर्दै एक नेताले भने– मैले अहिले कुनै पद छाड्न मिल्दैन । बरु महाधिवेशन छिटो गरौं । त्यसमा नै छलफल गरौं ।’

त्यसपछि प्रचण्डले आफूहरु महाधिवेशनबाट भाग्न नखोजेको तर तत्काल निकासका लागि ओलीले दुई मध्ये एक पद छोड्नु पर्ने अडान दोहोर्याउनुभयो । ओली प्रचण्डलाई कार्यकारी दिन सहमत हुनुभएको छ । तर प्रचण्डले पहिले पनि सहमति पालना नभएकोले लिखित हुनुपर्ने अडान राख्नुभएको छ ।

स्थायी र केन्द्रीय कमिटी बैठक राख्न ओली असहमत
वरिष्ठ नेता खनाल र संसदीय दलका उपनेता नेम्वाङलाई दायाँबाया राखेर ओली र प्रचण्डबीच छलफल अघि बढ्यो । र, सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकका विषयमा पनि छलफल भयो । प्रचण्डको आग्रह अनुसार स्थायी कमिटी र केन्द्रीय सदस्यले मागे अनुसार केन्द्रीय कमिटी बैठक राख्न ओलीले अस्वीकार गर्नुभएको छ । बरु सचिवालयबाट सहमति खोज्नुपर्ने ओलीको प्रस्ताव छ ।

स्थायी कमिटी बैठक बसेर अरु नेताका कुरा सुन्नुपर्ने प्रचण्डको प्रस्तावलाई ओलीले अस्वीकार गर्नुभयो । बैठक बस्नु अघि नै खुमलटारमा बसेर आफ्नाविरुद्ध षडयन्त्र गरेर बैठकमा आउने गरिएको ओलीको आरोप छ । तीन घण्टा चलेको छलफलमा सहमति हुन नसके पनि नेकपाका दुवै पक्षले यसलाई सकारात्मक मानेका छन, किनकी संवादहीनताको अवस्था अन्त्य भएर छलफल थालनी भएको छ र, यसबाट सहमति जुट्ने उनीहरुको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्