सुरक्षाकर्मीमा कोरोना संक्रमण, स्रोत पत्ता नलाग्दा समस्या (भिडियोसहित)

१६ साउन, २०७७ काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणमा स्वास्थ्यकर्मीसँगै सुरक्षाकर्मी पनि अग्रपंक्तिमा खटिएका छन् । कोरोना भाइरसविरुद्धको लडाईंमा अग्रमोर्चामा खटिएका सुरक्षाकर्मी धमाधम संक्रमित हुन थालेका छन् । जसले कोरोना संक्रमण थप जटिल बन्दै गएको हो कि भन्ने चिन्ता थपिएको छ ।
कोरोना भाइरस संक्रमण रोकथामका लागि अहिले तीनै तहका सुरक्षाकर्मी अग्रपंक्तिमा खटिएका छन् । जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने नेपाल प्रहरीसहित सशस्त्र प्रहरीलाई सीमा तथा क्वारन्टिन सुरक्षा, नेपाली सेनालाई शव व्यवस्थापन, होल्डिङ सेन्टरको व्यवस्थापन लगायत ब्यारेक बाहिरका काममा खटाइएको छ।
र अहिले यी तीनै तहका सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिन थालेको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना प्रहरीलाई सङ्क्रमण पुष्टि भएको छ। यसबोहक सातै प्रदेशका अन्य ठाउँमा पनि ठूलो संख्यामा प्रहरी अधिकारीहरुमा संक्रमण देखिएको छ । केही ठाउँमा सम्भावित संक्रमितसँगको सम्पर्कबाट प्रहरीमा संक्रमण भए पनि अधिकांश ठाउँको श्रोत पत्ता लाग्न सकेको छैन ।
नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बल पनि कोरोना संक्रमणबाट प्रभावित छ । सीमा सुरक्षा तथा क्वारेन्टिन सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा सङ्क्रमण देखिएको छ।
नेपाल-भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ । र सीमा क्षेत्रबाट विभिन्न बहानामा नेपाल प्रवेश गर्न खोज्ने नागरिकलाई उनीहरुले रोक्ने गरेका छन् । त्यसक्रममा सशस्त्र प्रहरीमा संक्रमण भएको ठानिएको छ ।
पछिल्लो समय ब्यारेक बाहिर निस्किएको नेपाली सेनामा पनि कोरोना संक्रमण देखिएको छ । कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन, विदेशबाट फर्केकालाई होल्डिङ्ग सेन्टरमा राख्ने र गन्तव्यमा पुर्याउने लगायतका काम गर्दा सैनिकमा संक्रमण देखिएको प्रवक्ता सन्तोषबल्लभ पौडेलको भनाइ छ ।
तर कोरोनाविरुद्धको लडाइमा होमिएका उनीहरुको हौसला बढाउने काम भइरहेको छ । जसले गर्दा संक्रमितको संख्या बढे पनि आमजनताको सुरक्षा र कोरोना रोकथामको कार्यमा कुनै चुक नुहुने तीनवटै सुरक्षा अंगको प्रतिवद्धता छ । तर यसका लागि उनीहरुले आम नागरिकको सहयोग अपेक्षा गरेका छन् ।
लकडाउन हटाएपछि चहलपहल बढनुका साथै नेपाल(भारतबीचका सीमाबाट लुकीछिपी मानिस आउनेक्रमले अझ धेरै सुरक्षाकर्मी सङ्क्रमित हुने जोखिम छ। त्यसैले उनीहरूलाई सुरक्षित राख्न सरकार अझ बढी सजग हुन आवश्यक छ ।
प्रतिक्रिया