Main News

देशका विभिन्न स्थानमा बाढीपहिरोका कारण १२ जनाको मृत्यु, चार जना बेपत्ता

हिमालय टिभी
२०७७ साउन १३ गते १९:०८
देशका विभिन्न स्थानमा बाढीपहिरोका कारण १२ जनाको मृत्यु, चार जना बेपत्ता

१३ साउन, २०७७ काठमाडौं । वर्षासँगै आएको बाढी पहिरोमा परि देशका विभिन्न ठाउँमा पछिल्लो पटक १२ जनाको मृत्यु भएको छ । चार जना बेपत्ता छन् ।

बाग्लुङमा बाढी र पहिरोमा परेर चार जनाको ज्यान गएको छ । तमानखोला गाउँपालिका वडा नम्वर २ मा पहिरोले घर पुरिँदा १३ वर्षीया खिमबहादुर विक र उनकी बहिनी १२ वर्षीया रीता विकको मृत्यु भएको छ । सुतिरहेको बेला पहिरोले घर पुरेको हो । मृतककी आमा होमकुमारी विक गम्भीर घाइते हुनुभएको छ ।

त्यस्तै निसीखोला गाउँपालिका वडा नम्वर १ मा पहिरोले पुरिएर पाँच वर्षीय समिर परियारको मृत्यु भएको छ । सोही गाउँपालिकामै नाम नखुलेका अन्दाजी ६० वर्षीया एक महिलाको पनि खोलाले बगाएर मृत्यु भएको छ ।

यस्तै कालिकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ भने एकै घरका ४ जना बेपत्ता भएका छन् । रास्कोट नगरपालिका वडा नम्वर १ स्थित जयबहादुर शाहीको घर पहिरोले बगाउँदा उनकी छोरी १५ वर्षीया संगीता, १२ वर्षीया छोरी कौशी, ८ वर्षीय छोरा नवीन र १५ वर्षीया भदै अस्मिता शाही बेपत्ता भएका छन् । जयबहादुर शाहीको मृत्यु भएको छ ।

यस्तै रास्कोटमै पहिरोमा पुरिएर १४ वर्षीया केशबुरा शाहीको मृत्यु भएको छ ।

यता दोलखाको सिङ्गटीमा घरमाथिबाट आएको ढुङ्गाले लागेर ३५ वर्षीया रेणु थामीको मृत्यु भएको छ ।

यसैगरी रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ९ स्यालामा पहिरोले पुरिएर २२ वर्षका नवीन सुनार र १६ वर्षका बलबहादुर सुनारको मृत्यु भएको छ ।

यसै गरी दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्वर ३ सल्लीमा पहिरोले घर पुरिदा ५० वर्षीय रामदत्त जोशी र उनकी श्रीमती ४५ वर्षीया इन्द्रादेवी जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ । पाल्पाको रम्भा गाउँपालिका वडा नम्वर १ असर्दीका ३० वर्षीय दिनेश अर्यालको पनि पहिरोले पुरिएर मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *