Main News

पप्पुको बदमाशीः डुडुवा नहर निर्माण २ वर्षदेखि अलपत्र (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १० गते १९:४९
पप्पुको बदमाशीः डुडुवा नहर निर्माण २ वर्षदेखि अलपत्र (भिडियोसहित)

१० साउन, २०७७ नेपालगञ्ज । निर्माणमा बदनामी कमाएको ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनका कारण सिक्टा सिंचाई आयोजना अन्तरगतको डुडुवा नहर अलपत्र परेको छ ।

यो नहर निर्माणको काम करिव २ बर्ष देखि ठप्प छ । सरकारले कालोसूचिमा राखेर कारवाही अघि बढाएपछि ठेकेदार कम्पनी मुद्दा मामिलामा लागेको छ । किसान पानीको प्रतिक्षामा छन् तर नहर निर्माण कहिले पुरा हुने टुङ्गो छैन ।

सिक्टाको मुल नहरबाट प्रति–सेकेन्ड १८ हजार लिटर पानी डुडुवा शाखा नहरमा छाडेर बाँकेको १६ हजार हेक्टर जमिनमा सिंचाई गर्ने योजना अहिले अलपत्र छ । साढे २३ किलोमिटर लामो डडुवा नहर निर्माणको ठेक्का कोस्टाल पप्पु कन्स्ट्रक्सनले पाएको थियो ।

२०७३ जेठमा काम सुरु गरी ०७५ पुस ४ गतेसम्म पूरा गर्ने गर्नुपर्ने थियो । तर समयावधि सकिदासम्म पप्पुले जम्मा ७ प्रतिशत मात्रै काम गरेपछि सिक्टा सिंचाई आयोजनाले २०७५ मंसिरमा ठेक्का तोडेर पप्पुलाई कालो सुचिमा राख्न सिफरिस गर्यो ।

त्यसपछि पप्पु कन्स्ट्रक्सनले उच्च अदालत नेपालगन्ज, उच्च अदालत पाटन, मध्यस्तता परिषद हुँदै सर्बोच्च अदालतमा मुद्दा हालेको छ । आयोजना र निर्माण कम्पनीबीचको मुद्दा मामिलाका कारण नहर निर्माण कहिले देखि अघि बढ्ने अन्योल छ ।

आकाशेपानीको भरमा धान रोपाई गरिरहेका किसानले जति सक्यो छिटो नहर निर्माण शुरु गर्न माग गर्दै आएका छन् ।

पप्पु कन्स्ट्रक्सन समयमा काम नगर्ने र ठेक्का तोडिए पछि मुद्दा मामिला गरेर आयोजनाको काममा बाधा अबरोध सर्जना गर्ने कम्पनीको रुपमा बदनाम छ ।

निर्माण कम्पनीको बदमासीका कारण करिब १ अर्बको लागतमा निर्माण सुरु भएको डुडुवा नहरको हविगत पनि पप्पुले त्यस्तै बनाएको छ । सिक्टा सिचाई आयोजनाको करिब ४५ किलोमिटर लामो पश्चिमी मुल नहरको निर्माण सम्पन्न भई सकेको छ । साखा नहर नबन्दा पानी किसानको खेतबारी सम्म पुर्याउन सकिएको छैन ।

पछिल्लो पटक सिक्टा सिंचाइ आयोजना आर्थिक वर्ष २०७६(०७७ सम्ममा २५ अर्ब २ करोडको लागतमा पुरा गर्ने लक्ष्य राखिएको थियो । हाल सम्म ब्यारेज तथा पश्चिम क्षेत्रको मुल नहर निर्माणको काम सम्पन्न भए पनि शाखा नहरको कामले गति लिन सकेको छैन ।

जसका कारण बाँकेको करिब ३४ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुर्याउने लक्ष्य अलपत्र परेको छ । राष्ट्रिय गौरवको यो आयोजनामा हाल सम्म करिब १६ अर्ब रुपैयाँ खर्च भइसकेको छ । काम भने ६० प्रतिशत मात्रै भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *