Main News

एसिड हान्ने दुईजना पक्राउ, कडा कारवाही गर्न पीडितकाे आग्रह (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ९ गते २०:१६
एसिड हान्ने दुईजना पक्राउ, कडा कारवाही गर्न पीडितकाे आग्रह (भिडियोसहित)

९ साउन, २०७७ काठमाडौं । महिलामाथि हुने हिंसाका विभिन्न स्वरुप छन् । ती मध्येको एक हो एसीड आक्रमण । पछिल्लो समय प्रेममा विछोड, दाइजो लगायत विभिन्न कारण देखाएर महिलामाथि एसिड आक्रमण भइरहेको छ ।

हिजो यस्तै एउटा घट्ना देशको राजधानी काठमाडौंमै घट्यो । ओखलढुंगाबाट सपनाको ठूलो भारी बोकेर काठमाडौं आएकी २२ वर्षीय युवती एसीड आक्रमणको शिकार बनिन् ।

ओखलढुंगाकी २२ वर्षीया युवती दिदीसँगै काठमाडौंमा बस्थिन् । केही वर्षअघि दिदीले नै काम गर्ने गार्मेन्ट उद्योगमा केही समय काम पनि गरिन् । अलिकपछि राम्रो काम पाइन् र त्यहाँ छाडिन् ।

तर उनले काम छाडेपनि गार्मेन्ट मालिकको कुदृष्टिले भने उनलाई छाडेन । रौतहट घर भइ हाल डल्लुमा बसेर गार्मेन्ट उद्योग चलाउँदै आएका ४७ वर्षे मोहम्मद आलमले पवित्रामाथि कुदृष्टि राखे । र विभिन्न बहानामा उनलाई पछ्याइरहे ।

बिहीबार बेलुकी दही चिउरा खान मन लागेपछि ती युवती दही लिन पसल निस्केकी थिइन् । त्यहीबीचम आलमले उनलाई बारम्बार फोन गरे । बाध्य भएर फोन उठाएकी उनलाई आलमले सितापाइला चोकमा खाजा खुवाए, मोटरसाइकलमा चढाए र घर छेउसम्म पुर्याए । तर उनी सकुशल घर पुग्न पाइनन् । अर्थात घर छेउको मकैबारीमा आलमले स्टेण्ड बाइ राखेका आफ्ना कामदार फैयाज आलम मार्फत उनीमाथि एसिड खन्याए ।

चिच्याउँदै घर पुगेकी उनलाई अस्पताल लगियो । प्रहरीले पनि सिसिटिभिको सहयोगमा आलम र उनका कामदारलाई तुरुन्त पक्राउ गर्यो ।

प्रारम्भिक अनुसन्धानमा पनि आलमले उनीमाथि गलत नजर राखेको र आफूले चाहे अनुरुप नभएपछि एसिड प्रहार गर्नेसम्मको योजना बनाएको पाइएको छ ।

बहिनीमाथि भएको एसिड प्रहारको घट्नाले विक्षिप्त भएकी दिदीको अपराधीलाई कडा भन्दा कडा कारबाहीको माग छ ।

एसिड प्रहारको घट्नाका सम्बन्धमा मुलुकी अपराध संहिताको दफा १९३ को उपदफा २० मा कसुर गर्ने व्यक्तिलाई प्रकृति हेरि अनुहार कुरुप पारेमा पाँचदेखि आठ वर्षसम्म कैद र एक लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

यस्तै शरीरको अन्य अंग कुरूप पारे वा शरीरमा पीडा भएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । र प्रहरीले पनि यी आरोपीलाई सोही अनुसार कारवाहीको प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

तर पछिल्लो समय कानूनमा रहेका स साना छिद्रताबाट फाइदा लिँदै अपराधीले उन्मुक्ति पाइरहेको बेलामा एसिड आक्रमणसम्बन्धि यस्ता घट्नामा राज्यले कठोर नीति लिनु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *