प्रधानमन्त्री ओली विदेशीकै आडमा टिक्न खोजेको नेकपा नेताकै आरोप

७ साउन, २०७७ काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका मुख्य सचेतक देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली विदेशीकै आडमा टिक्न खोजेको आरोप लगाउनुभएको छ ।
विदेशीले हटाउन खोजेको र पार्टीकै नेताले पनि चलखेल गरे भन्ने ओलीको दावीको खण्डन गर्दै गुरुङले ओलीमाथि हमला गर्नुभएको हो ।
हिमालय टेलिभिजनसँग कुरा गर्दै गुरुङले भारत र अमेरिका आफू अनुकुल ओलीको सत्ता स्थापित गर्न लागिपरेको टिप्पणी गर्नुभयो । भारतको मिडिया र संस्थापनले विरोध गरे जस्तो गरेर ओलीलाई नै बलियो बनाउने काम गरिरहेको उहाँले दाबी गर्नुभयो ।
यस्तै अमेरिका पनि आफूलाई समर्थन गर्नेहरूलाई नै स्थापित गर्न खोजेको भन्दै ओलीको बचाउमा रहेको गुरुङले दावी गर्नुभयो । गुरुङका अनुसार एमसीसी पारित नहुने भएपछि पार्टी फुटाएर भएपनि अमेरिका ओली सरकारलाई बचाउन लागिरहेको छ ।
पछिल्लो पटक नेकपाभित्र ओलीले आफूलाई भारतले हटाउन खोजेको र नेकपाकै नेताहरुका गतिविधि पनि त्यसैसँगै मिलेको भनेपछि विवाद चर्केको छ । र, विवाद बढेर विभाजनकै अवस्था आएको छ । पटक पटक समाधानका प्रयास भएपनि सहमति हुन सकेको छैन । एमसीसीका बारेमा पनि पार्टी भित्र दुई मत छ ।
प्रतिक्रिया