बाढी र पहिरोमा परेर देशका विभिन्न जिल्लामा मृत्यु हुनेको संख्या ६ पुग्यो
६ साउन, २०७७, काठमाडौं । बाढी पहिरोमा परेर पछिल्लो पटक तनहुँ, काठमाडौं, दार्चुला र तेह्रथुममा ६ जनाको मृत्यु भएको छ ।
तनहुँको भानु नगरपालिका–९ सिमलगैह्रामा पहिरोले घर पुरिँदा हजुरआमा र नातिनीको मृत्यु भएको छ। मृत्यु हुनेमा ८० वर्षीया तिलमाया धौराली र १५ वर्षीया शिताष्मा धौराली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। योसँगै पहिराले पुरिएर तनहुँमा एक हप्तामा १३ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्।
दार्चुलाको नौगाड गाउँपालिका ६ मा पहिरो जाँदा ४२ वर्षीया मानमतीदेवी ठगुन्ना र उहाँकी ६ वर्षीया छोरी आरतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
यसैगरी, पहिरोले पुरिएर काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर १, गागलफेदीमा एक जनाको मृत्यु भएको छ। पहिरोमा पुरिएर लमजुङ स्थायी ठेगाना भएका २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको वडाध्यक्ष मुकुन्द गजुरेलले जानकारी दिनुभयो ।
यसैगरी, तेह्रथुमको लागीगुराँस नगरपालिका वड नम्बर नौ सोल्मामा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । सोल्माको भालु खोलाले बगाउँदा म्याङलुङ नगरपालिका वडा नम्बर ६ की ३७ वर्षीया अञ्जना लिम्बूको मृत्यु भएको हो ।
प्रतिक्रिया