क्षेत्राधिकारबाहिरको विषयमा बैठक डाक्न थालेको संसदीय समिति सभापतिहरुको गुनासो
५ साउन, २०७७ काठमाडौं । पछिल्लो समय संसदीय समितिहरुले क्षेत्राधिकार बाहिरका विषयमा हात हालेको र समन्वय नगरी बैठक डाक्न थालेको भन्दै सभापतिहरुले असन्तुष्टि जनाएका छन् ।
सिंहदरवारमा आज आयोजित छलफल कार्यक्रममा समिति सभापतिहरुले क्षेत्राधिकार मिचिएको विषयमा सभामुख र राष्ट्रियसभा अध्यक्षको ध्यानाकर्षण गराएका हुन् ।
केही समय यता वैज्ञानिक वन व्यवस्थापनका कुरा चर्चामा आइरहेका सम्बन्धमा प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक लेखा समितिले त्यसमा छुट्टाछुट्टै अनुगमन गरिरहेका छन् ।
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले दुबै सदनका सभापतिहरुसँग समितिका कामका विषयमा छलफल गर्न डाक्नुभएको बैठकमा समिति सभापतिहरुले समितिहरुबीच समन्वय अभाव हुँदा काम गर्न अफ्ठ्यारो हुने गरेको गुनासो गरेका छन ।
यसबाहेक कोरोना भाइरस संक्रमणको त्रासका कारण बैठक सञ्चालन गर्न कठिनाइ भइरहेका विषय पनि सभापतिहरुले उठाएको सभामुख अग्निप्रसाद सापकोटाले बताउनुभयो ।
छलफलमा बजेट बनाउने सम्बन्धमा सांसदसँग कुनै छलफल नभएको विषयमा पनि सभापतिहरुले असन्तुष्टि जनाएका थिए । बैठकमा राष्ट्रियसभा र प्रतिनिधिसभाका गरी १३ वटा समितिका सभापतिहरु उपस्थित हुनुहुन्थ्यो ।
प्रतिक्रिया