Main News

अख्तियारको ३० वर्षे इतिहासमा यो वर्ष सबैभन्दा बढी मुद्दा दर्ता, कस्ता छन् मुद्दा ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ३ गते १७:१५
अख्तियारको ३० वर्षे इतिहासमा यो वर्ष सबैभन्दा बढी मुद्दा दर्ता, कस्ता छन् मुद्दा ? (भिडियोसहित)

अख्तियार दुरुपयोग अनुसन्धाान आयोगले गत आर्थिक वर्ष आफ्नो ३० वर्षेको इतिहासमै सबैभन्दा बढी मुद्दा दायर गरेको छ । गत आर्थिक वर्षमा २ सय ९६ दिन कार्यालय खुलेकोमा अख्तियारले दैनिक १ दशमलव ५ वटाका दरले ४ सय ४१ वटा मुद्दा विशेष अदालतमा दायर गरेको हो । अख्तियारले गत वर्ष विस्तृत अनुन्धानमा लगेको उजुरीको संख्या समेत हालसम्मकै उच्च छ ।

गत वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २४ हजार ८ सय ९० वटा अनियमितता सम्बन्धि उजुरी परे । यो आर्थिक वर्ष २०७५र७६ मा परेका २४ हजार ८५ वटा उजुरीभन्दा ८ सय ५ वटा बढी हो । गत वर्ष परेका यी उजुरीमध्ये अख्तियारले १६ हजार ५ सय ८६ वटा मुद्दा फछ्‌र्योट गरेको छ ।

अख्तियारकाे वार्षिक कारबाही :
उजुरी संख्या : २४,८९०
फछ्‌र्योट संख्या : १६,५८६
फछ्‌र्योट प्रतिशत : ६७.६४
विस्तृत अनुसन्धानमा गएकाे : १,११४

यो कुल उजुरीको ६७ दशमलव ६४ प्रतिशत हो । आर्थिक वर्ष २०७५र७६ मा ६४ दशमलव ४७ प्रतिशत अर्थात १५ हजार ५ सय २७ वटा उजुरी फछ्‌र्योट भएका थिए । फछ्‌र्योटपछि अख्तियारले गत वर्ष १ हजार १ सय १४ वटा उजुरीलाई विस्तृत अनुसन्धानमा लगेको छ ।

विस्तृत अनुसन्धानमा लगिएको यो उजुरीको संख्या हालसम्मकै उच्च हो । आर्थिक वर्ष २०७५–७६ मा विस्तृत अनुसन्धानमा लगिएका उजुरी ८ सय ६१ मात्र थिए ।

कुन शीर्षकमा कति मुद्दा ?
घुस : २०६
नक्कली शैक्षिक प्रमाण पत्र : ८५
सार्वजनिक सम्पत्ति हानी : ७४
गैरकानुनी लाभहानी : ३६
अकुत सम्पत्ति आर्जन : १८
राजस्व हिनामिना : १२
अन्य : १०

गत वर्ष दायर गरिएका मुद्दामा सबैभन्दा बढी घुससम्बन्धी छन् । गत वर्ष घुसमा २ सय ६, नक्कली शैक्षिक प्रमाण पत्रका ८५ र सार्वजनिक सम्पत्तिको हानी नोक्सानीका ७४ वटा मुद्दा विशेष अदालतमा दायर गरिएको छ । गैरकानुनी लाभहानीका ३६, अकुत सम्पत्ति आर्जनका १८, राजस्व हिनामिनाका १२ र अन्य विषयमा १० मुद्दा दायर भएको छ ।

यी मुद्दामा विशिष्ट श्रेणीका कर्मचारी ६ जना, अन्य कर्मचारी ८ सय ३ र विचौलिया ३ सय १५ जना र निर्वाचित पदाधिकारी ७२ जना गरी १ हजार १ सय ९६ जनालाई प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ ।

काे-काे प्रतिवादी ?
विशिष्ट श्रेणीका कर्मचारी : ६ जना
अन्य कर्मचारी : ८०३ जना
विचौलिया : ३ सय १५ जना
निर्वाचित/मनाेनित पदाधिकारी : ७२ जना
जम्मा : १,१९६ जना

प्रतिवादी बनाइएका निर्वाचित एवंम मनोनित पदाधिकारीहरुमा ललिता निवास प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीहरु चन्द्रदेव जोशी र डम्बर श्रेष्ठदेखि अख्तियारका पूर्व प्रमूख आयुक्त दीप बस्न्यातसम्म छन् । यी मुद्दाहरुमध्ये २८ वटा मुद्दामा १ करोडभन्दा बबी बिगो दाबी गरिएको छ । यस्तै अख्तियारबाट दायर गरिने मुद्दाको सफलताको दर पनि बढ्दै गएको छ ।

गएका दुई आर्थिक वर्षअघि अख्तियारबाट दायर गरिएका मुद्दामध्ये ६० देखि ७० प्रतिशत मुद्दामा अख्तियारको पक्षमा फैसला आउने गरेको थियो ।

तर अदालतबाट प्राप्त फैसलाका आधारमा आर्थिक वर्ष २०७५–७६ मा ८४ दशमलव ८ प्रतिशत र २०७६–७७ मा ८५ दशमलव ५ प्रतिशत मुद्दामा अख्तियारलाई सफलता मिलेको छ । यसले छानबिनको प्रभावकारिता बढ्दै गएको र भ्रष्टाचारविरुद्धको थप कारबाहीका लागि हौसला मिलेको अख्तियारको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *