Political Hightlights

सत्तारुढ नेकपा अध्यक्ष ओली र प्रचण्ड आज छलफलमा जुट्दै

हिमालय टिभी
२०७७ असार ३१ गते ७:३९
सत्तारुढ नेकपा अध्यक्ष ओली र प्रचण्ड आज छलफलमा जुट्दै

३१ असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीको आन्तरिक विवाद समाधानका लागि आज छलफल हुँदैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो हुने छलफल पार्टीभित्रको आन्तरिक विवाद समाधानमा केन्द्रीत हुने भएको छ ।

आन्तरिक र बाह्य अवस्थाका कारण घेरावन्दीमा परेका प्रधानमन्त्री ओली पार्टीभित्रको सन्तुलन व्यवस्थापन गरेर अघी बढ्ने मनन्थितिमा पुग्नुभएको छ ।

इतिहासकै बलियो शक्ति आर्जन भएर बनेको सरकार सबैभन्दा कमजोर अवस्थामा पुगेका बेला नेकपाका दुई अध्यक्षबीच पार्टी र सरकारलाई चलायमान बनाउने गरी छलफललाई निश्कर्षमा पुर्याउने तयारीमा छन् ।

आजको छलफलमा पार्टीभित्रको विवाद समाधान र सरकारका काम कारबाही जनमूखी बनाउनेबारे छलफल हुने नेकपाले जनाएको छ । गत मंसिर ४ मा भएको सहमतिलाई थप व्याख्या गरी सचिवालयमा पेश गर्नेबारे दुई अध्यक्षबीच छलफल हुने छ।

केही दिन अघीसम्म अरुका कुरा सुन्नै नचाहने अवस्थामा पुगेका प्रधानमन्त्री आफ्नै कारणले विवादित बनेपछि पार्टीभित्र सन्तुलन कायम गराउन सहमत देखिनुभएको हो।

भानुजयन्तीका दिन भगवान रामचन्द्रको जन्मभूमि नेपाल नै हो भनेर अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओली आन्तरिक र बाह्य घेराबन्दीमा पर्नुभएको छ ।

हिजो नेकपाका दूई अध्यक्षवीच हुने भनिएको आन्तरिक छलफल विषयमा प्रवेश गर्न नसकी आजका लागि सरेको हो । प्रधानमन्त्री ओलीको अभिव्यक्तिका कारण भारतमा सोमबारदेखि नै निकै ठूलो तरंग आइसकेको छ ।

नेपालले नक्सा जारी गर्दासमेत विज्ञप्ति जारी नगरेको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले विज्ञप्ति नै जारी गरेर ओलीको अभिव्यक्ति प्रति आपत्ति जनाएको थियो ।

प्रधानमन्त्री ओली आफ्नै कारणले चौतर्फी दबाव र घेराबन्दीमा परेकै बेला कार्यकारी अध्यक्ष प्रचण्ड हिजो पार्टीको आन्तरिक विषयमा छलफल गर्न भन्दै बालुवाटार पुग्नुभएको थियो । तर प्रधानमन्त्रीलाई थकित अवस्थामा देखेपछि प्रचण्ड पार्टीको आन्तरिक विषयमा कुरा नगरी खुमलटार फर्केको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्