Main News

भोकभोकै त्रिपाल र विद्यालयमा आधा शरीर भिज्दै ५०० पीडित

हिमालय टिभी
२०७७ असार ३० गते ८:३६
भोकभोकै त्रिपाल र विद्यालयमा आधा शरीर भिज्दै ५०० पीडित

३० असार, २०७७, जाजरकोट । गाउँभरि पहिरो आएपछि ज्यान जोगाउन विस्थापित भएका ५०० भन्दा बढी सर्वसाधारण खानेकुराको अभावमा भोकभोकै बस्न बाध्य भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको डिपोमा एक गेडो चामल नभएपछि सर्वसाधारण समस्यामा परेका हुन् ।

ठेकेदारले स्वीकृत कोटा एक हजार ५७ क्विन्टल चामल यो आर्थिक वर्षका लागि घाट डिपोमा ढुवानी नगर्दा समस्या चुलिएको छ । सदरमुकामको गोदाममा भने भरिभराउ चामल छ । ठेकेदारलाई जतिपटक चामल लिन आग्रह गरे पनि नमानेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुखले नै बदमासी गर्ने ठेकेदारलाई जोगाउने गरेको प्रजिअ पन्तको भनाइ छ । “बारेकोटमा नयाँ ठाउँमा खाद्य डिपो स्वीकृत भएर आयो तर चामल आएन”, जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले भन्नुभयो ।

एक महिनादेखि रित्तो रहेको डिपोमा चामल लिन आएका सर्वसाधारण पनि रित्तो हात फर्केका छन् । विद्यालय तथा पाल हालेर खुलाचौरमा ज्यान जोगाउन बसेका सर्वसाधारण आफन्त जोगाउनुको पीडाका साथै खानेकुराको अभावमा भोकै बस्नुपरेको बारेकोट गाउँपालिका–५ का मोहनजङ्ग शाहीले बताउनुभयो ।

पहिरो गएको चार दिनपछि राहत लिन छलफल
पहिरो गएको चार दिनसम्म वनमन्त्री शक्तिबहादुर बस्नेतले हेलिकोप्टरमा ल्याएको दुई हजार ३०० किलो राहतबाहेक अन्य कसैले पनि राहत वितरण नगरेको सर्वसाधारणको गुनासो छ । मन्त्री बस्नेतको पहलमा उपलब्ध भएको सो राहतले केही समस्या टरेको छ । चार दिनपछि सदमुकाम खलङ्गामा विपद् व्यवस्थापन समितिको बैठक बसी राहत सामग्री ल्याउने विषयमा छलफल भएको छ । गाउँगाउँमा सर्वसाधारण बाँच्नका लागि जङ्गलमा पाल टाँगेर आधा शरीर भिज्दै बसिरहेका बेला सदरमुकाममा भने बल्ल चार दिनपछि सामान्य छलफल शुरु भएको हो ।

बारेकोट–४ सार्कीटोलमा खानेपानीदेखि ओतिने त्रिपालसम्म नहुँदा एउटै पालमा १५ जनाभन्दा बढी बस्नुपरेको स्थानीय कालीबहादुर सार्कीले बताउनुभयो । प्रदेश सरकारले राहतका लागि कुनै पनि पहल नगरेको गाउँपालिकाले जनाएको छ । तीन तहका सरकारले ५०० नागरिकलाई ओतलाग्नेसम्मको व्यवस्थापन गर्न नसक्नु दुर्भाग्य भएको सर्वसाधारणको भनाइ छ ।

विद्यालयको भुइँ कोठामा मानिस खाँदिएर बस्दा बिरामीसमेत पर्न थालेको रमित सार्कीले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहदेखि वडाध्यक्षसम्म विस्थापित भएका छन् । बाटो भत्किएका कारण राहत सामग्री ल्याउन मुस्किल भएको प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो । कुन ठाउँमा के भएको छ भन्ने थाहा नहुने अवस्था सिर्जना भएका कारण जिल्लाका मुख्य ठाउँमा सूचना केन्द्र स्थापना गर्नका लागि पहल शुरु भएको छ ।

घरमा भएको अन्नसमेत खान पाइएन
खोलामा भएको पानीघट्ट सबै बग्दा घरमा भएको अन्नसमेत पिसेर खान नपाएको सर्वसाधारणले गुनासो गरेका छन् । “डिपोमा चामल छैन, एक गाउँबाट अर्को गाउँमा जान सक्ने अवस्था पनि छैन, कसरी बाँच्नु ?” बारेकोट–५ का ६१ वर्षीय जनक शाहीले भन्नुभयो । यता जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले नेपाल रेडक्रस सोसाइटीबाट प्राप्त ९० थान त्रिपाल भेरी नगरपालिकाले ढुवानी भाडा व्यहोर्ने गरी आज पठाउने तयारी भएको प्रजिअ पन्तले बताउनुभयो । खाद्यान्न पठाउनका लागि कुनै पहलसमेत भएको छैन । बारेकोट बर्सेनि यही समयमा खाद्यान्न अभाव हुने ठाउँ हो । बारेकोट–४ मा एक र वडा नं ६ मा दुई बेपत्ताहरु अझै फर्केका छैनन् । सेना र सशस्त्र प्रहरी उद्धारकार्य स्थानीय प्रहरीलाई जिम्मा दिँदै सोमबार सदरमुकाम फर्किएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *