Main News

कोरोना संक्रमण बढ्दै गएपछि रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित

हिमालय टिभी
२०७७ असार २४ गते ७:४६
कोरोना संक्रमण बढ्दै गएपछि रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित

२४ असार, २०७७ काठमाडौं । कोरोना भाइरसको असर बढ्दै जान थालेपछि आजदेखि सुरु हुने भनिएको रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित भएको छ।

काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण दिनप्रतिदिन बढ्‍दै गएकाले रथारोहण स्थगित गर्नु परेको गुठी संस्थान ललितपुरका अध्‍यक्ष चन्द्र महर्जनले जानकारी दिनुभयो ।

गत चैत २८ गते अनिश्चितकालका लागि स्थगित गरिएको रथयात्राका लागि रथ निर्माणको काम असार १० गतेदेखि सुरु गरिएको थियो। रातो मच्छिन्द्रनाथको रथयात्रा नेपालको सबैभन्दा लामो जात्रा हो।

रथलाई जात्रा अवधिभर ललितपुरको टोलटोलमा घुमाइन्छ। सर्वसाधारणले आफन्त बोलाएर भोज गरी जात्रा मनाउने गर्छन्। हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बीले बुद्धको चौथो अवतार ‘पद्मपाणि’का रूपमा पूजा गर्ने गर्छन्।

करिब १ हजार ६०० वर्ष पुरानो रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ।

लिच्छवीकालका राजा नरेन्द्रदेवको पालामा भारतको कामरुप कामाख्याबाट रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याइएको किंवदन्ती छ। पुल्चोकमा रथारोहण गराएपछि सुरु हुने मत्स्येन्द्रनाथको जात्रा लगनखेलमा भोटो देखाई मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि रथजात्रा समापन हुने प्रचलन थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *