Main News

चुनौति र अवसरकाबीच प्रहरी महानिरीक्षकमा थापा (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार २३ गते १९:४४
चुनौति र अवसरकाबीच प्रहरी महानिरीक्षकमा थापा (भिडियोसहित)

नेपाल प्रहरीको २८ औं महानिरीक्षकमा शैलेश थापा क्षेत्री नियुक्त हुँदा त्यत्तिधेरै चर्चा र विवाद भएको सुनिएन । आईजीपीको दौडमा रहेका हरिबहादुर पाल र थापाबीच सम्बन्ध राम्रो रहेको सन्देश दिन केहीदिन अघिसम्म सार्वजनिक कार्यक्रममा स‌ंगै देखिनु भएको थियो । यो सम्बन्धले प्रहरी संगठनको काम गराइ पनि राम्रो हुने देखिन्छ ।

२०२५ साल मंसिर २३ गते भक्तपुरको कटुन्जेमा जन्मेका क्षेत्री प्रहरी निरीक्षकका रुपमा २०४९ साल बैशाख १९ गते प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । थापाको पारिवारिक पृष्ठभूमि पनि प्रहरीकै छ । उहाँका बुबा शम्भु थापा क्षेत्री पनि प्रहरी नायव महानिरीक्षकबाट सेवानिवृत्त हुनुभएको थियो ।

विभिन्न जिल्लाको प्रमुखदेखि महानिरीक्षकको सचिवालयसम्मका कामको जिम्मेवारी सम्हालीसकेका क्षेत्रीले प्रहरी प्रवक्ताका रुपमा समेत काम गरिसक्नुभएको छ । निरीक्षक हुँदा विभिन्न जिल्ला, प्रहरी महानिरीक्षकको सचिवालय तथा पुलिस एकेडेमीमा रहेर काम गर्नुभयो ।

प्रहरी नायव उपरीक्षक भएपछि क्षेत्रीले महानिरीक्षकको सचिवालय, धादिङ र सिन्धुपाल्चोकमा रहेर काम गर्नुभयो ।

प्रहरी उपरीक्षकको रुपमा भने उहाँले कास्की र झापामा काम गर्नुभयो । जिल्लामा रहेर काम गर्ने प्रहरी अधिकृत कुनै न कुनै विवाद रहने गरे पनि थापा विवादमा पर्नुभएन । वरिष्ठ प्रहरी उपरीक्षकका रुपमा पनि उहाँ केन्द्रीय प्रहरी प्रवक्ता रहनुभयो ।

प्रहरी नायव महानिरीक्षक भएपछि उहाँ काठमाडौं मेट्रोको प्रमुख हुनुभयो र फेरि महानिरीक्षककै सचिवालयमा पुग्नुभयो । संयुक्त राष्ट्रसंघको मिसनमा पूर्वी टिमोर, डार्फर र बोस्नियामा पनि काम गरेको अनुभव छ थापासँग ।

पछिल्लो समय उहाँ मानव श्रोतसाधन तथा प्रशासन विभाग प्रमुखका रुपमा हुनुहुन्थ्यो ।

सेवा प्रवेश गरेयता बोलीमा नम्र, आफ्नो मातहतका प्रहरी अधिकृत तथा अन्य कर्मचारीलाई कहिले पनि ठूलो स्वरले नबोल्ने तर कानुन तथा आचारसंहिता विपरित काम गर्नेलाई कठोर कारबाही गर्ने हिम्मत राख्ने छवि छ थापाको । र त्यही छविका कारण उहाँ यसपटक निर्विवाद २८औं प्रहरी महानिरीक्षकको रूपमा बढुवा हुनुभएको छ ।

सधैं विवादका बीच हुने आईजीपी नियुक्त यसपटक विवाद रहित देखिएको छ । किनकी यसअघिका सरकारले प्रहरीमा वरियता मिचेर आईजीपी नियुक्त गरेको भन्दै आलोचना हुने गरेको थियो । र प्रहरी महानिरीक्षकको नियुक्तिका लागि पनि प्रतिस्पर्धीबीच अस्वस्थ प्रतिस्पर्धा हुने गरेको थियो । तर यसपटक आईजीपीको दौडमा रहेका क्षेत्री र हरिबहादुर पालबीच जो आईजीपी भएपनि मिलेर काम गर्ने सहमती यसअघिनै भएको थियो ।

यसरी विवादरहित नियुक्ति पाएका क्षेत्रीको झण्डै २३ महिनाको कार्यकाल भने विवादरहित हुन सक्छ सक्दैन त्यो भोलिका दिनमै थाहा होला । तर उहाँको नियुक्तिले प्रहरी सेवामा विश्वास भने पलाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *