Main News

नेपालमा एकै दिन ७४० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५ हजार २ सय ५९ पुग्यो, एक जनाको मृत्यु

हिमालय टिभी
२०७७ असार १९ गते १६:४०
नेपालमा एकै दिन ७४० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५ हजार २ सय ५९ पुग्यो, एक जनाको मृत्यु

१९ असार, २०७७ काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) संक्रमित काठमाडौं नयाँ बानेश्वरका एक ८५ वर्षीय वृद्धको मृत्यु भएको छ । थप एक जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बानेश्वर बस्ने ८५ वर्षीय वृद्धको राजधानीको एक निजी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उनी उच्च रक्तचाप र पार्किन्सनको बिरामी रहेको जानकारी दिनुभयो ।

छाती दुख्ने समस्या र पिसाबमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । अस्पतालको आइसोलेसनमा उपचारका क्रममा उनको १७ गते राति मृत्यु भएको उहाँले बताउनुभयो ।


नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार नाघेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार शुक्रबार ७ सय ४० जना कोरोना संक्रमित थपिएसँगै नेपालम संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको हो । मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश नम्बर १ मा ६ सय ७४, प्रदेश नम्बर २ मा ३ हजार ९ सय ९५ र बागमती प्रदेशमा ५ सय ७ जनामा कोरोना पोजेभि देखिएको छ । यस्तै गण्डकी प्रदेशमा ११ सय १८, प्रदेश नम्बर ५ मा ३ हजार ८ सय ९१, कर्णाली प्रदेशमा १ हजार ५ सय ३९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ३५ जनामा संक्रमण देखिएको छ ।

परीक्षणको दायरा फराकिलो बन्दै
सरकारले क्यान्सर, डाइबिटिजका बिरामीहरुको कोरोना परीक्षण गर्ने भएको छ । यस्तै अस्पतालको आकस्मिक कक्षमा आउने बिरामी, आइसीयुमा भर्ना भएका बिरामी, पकेट क्षेत्रमा बस्ने नागरिक र स्वास्थ्यकर्मीहरुको परीक्षण गर्ने प्रवक्ता गौतमले बताउनुभयो । सरकारी, सामुदायिक र निजी अस्पतालहरुमा समेत कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

शुक्रबार पीसीआर विधिबाट ४ हजार ४ सय ८३ वटा नमुना परीक्षण भएका छन् । आजसम्म पीसीआर विधिबाट २ लाख ४२ हजार २ सय ४७ वटा परीक्षण भएका छन् । आजसम्म ३ लाख ५ हजार ६ सय २९ जनाको आरडिटी परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा ३५ हजार ४ सय ७२ रहेका छन् ।

यस्तै देशका विभिन्न अस्पतालका आइसोलेसनमा ९ हजार ८४ जना उपचाररत रहेका छन् । आजसम्म ६ हजार १ सय ४३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *