नेपाल–भारत सीमा बन्द गरेर प्रवेशाज्ञा लागू गर्न नेकपा नेता गौतमको माग

१३ असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल र भारतबीचको खुला सीमा बन्द गरी प्रवेशाज्ञा प्रणाली लागु गर्नुपर्ने माग गर्नुभएको छ ।
गौतमको सचिवालयले विज्ञप्ति निकालेर पार्टीको स्थायी कमिटी बैठकमा गौतमले नेपाल र भारतबीच प्रवेशाज्ञाको व्यवस्था हुनुपर्ने धारणा राखेको जानकारी दिएको छ । तर त्यस्तो प्रवेषाज्ञा भने निःशुल्क हुनुपर्ने गौतमको मत छ ।
गौतमले सिमानामा दुवै राष्ट्रको हितका निम्ति दशगजाका दुवैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउनु पर्नेमा समेत जोड दिनुभएको छ ।
भारतसँगको समस्या शान्ति वार्ताकै माध्यमबाट समाधान हुनुपर्ने गौतमको धारणा छ । नक्सा जारी गरेर ९९ प्रतिशत जित भएको र कालापानीबाट भारतीय सेना हट्ने वित्तिकै शतप्रतिशत विजय हासिल हुने पनि गौतमको धारणा छ ।
गौतमले महाकाली सन्धिको विरोध गर्दा आफूहरु माथि भएको कारवाही अन्यायपूर्ण र सन्धि राष्टघाती थियो भनेर स्वीकार्न पनि माग गरेको विज्ञप्तिमा उल्लेख छ । गौतमले हिजो स्थायी कमिटी बैठकमा राष्टघाती महाकाली सन्धिको विरोध गर्दा आफू सहित १६ जनमाथि अन्याय भएको बताउनुभएको थियो ।
प्रतिक्रिया